जुनोटिक भाइरल दुर्लभ मंकीपक्स रोग मे ७ मा नाइजेरियाबाट फर्किएका बेलायतीमा पहिलोपटक देखिएको थियो । यो रोग १५ दिनमा बेलायत, अमेरिका, इटली, स्विडेन, फ्रान्स, स्पेन, पोर्चुगल, जर्मनी, अस्ट्रेलिया, क्यानाडा, बेल्जियम, नेदरल्यान्ड, इजरायल, आस्ट्रिया र स्विजरल्यान्ड गरी १५ देशमा १ सय बढीमा फैलिएको तथा मे अन्तमा २० देशमा २ सय बढीमा र जुनको पहिलो सातामै ७ सय बढीमा फैलिएको समाचारले तपाईं हामी सबैलाई त्रसित बनाएको छ । तथापि, आजसम्म मृत्यु एक जनाको मात्र भएकाले त्यति डर मान्नुपर्ने अवस्था देखिँदैन । यस क्षेत्रमा बिफर र ठेउलाजस्तो देखिने मंकीपक्सलाई महामारी भनिए पनि २०१७ सेप्टेम्बरपछि यो केस पुष्टि हाल भएको र नाइजेरियामा ४० वर्षीय बिरामीको २०७९ जेठ १७ गते मृत्यु भएपछि विश्वमा पहिलो मृत्यु भएको हो । मुम्बइको कस्तुरबा मेडिकल कलेजमा २८ बेडको आइसोलेसन वार्ड तयार पारिएको छ । अवस्थाको गम्भीरतालाई कति हल्का रूपमा हामी लिन्छांै भन्ने ठूलो प्रमाण तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईलाई लिन सकिन्छ । विभिन्न देशमा कोभिडले त्राहीत्राहीमा भएका बेला उनी अस्ट्रेलियामा पर्यटन प्रर्वद्धनका कार्यक्रम गर्न उडेका थिए तथापि कार्यक्रम गर्न पाएनन् । मंकिपक्समा पनि नेपालमा उही चाल त हुँदैन भन्ने संशय पैदा जरुर भएको छ । संक्रमण तथा शंकास्पद केस नेपालमा पत्ता नलागेकाले धेरै डराउन नपरे पनि सबै सचेत हुन आवश्यक छ । ज्वरो आउने, टाउको, ढाड तथा मांशपेसी दुख्ने, शरीर चिलाउने, ग्रन्थी सुन्निने, हत्केला र पैतालामा बिमिरा, डाबर, फोका देखिने र छाला फुट्ने लगायतका लक्षण देखिन्छन् ।
इतिहास ः वेस्टर्न अफ्रिकन र सेन्टल अफ्रिकन स्टेन २ प्रकारको भाइरसबाट लाग्नेमंकिपक्स भाइरसले गराउने यो रोगले सन् १९७० देखि पटक पटक महामारीको रूप लिएको देखिन्छ । अफ्रिका बाहिर भने पहिलोपटक अमेरिकामा सन् २००३ मा देखिएको हो । सन् १९५८ मा पहिलोपटक पश्चिम अफ्रिकाको एक दुर्गम भेगमा एक बन्दी बाँदरमा फेला परेको थियो । त्यसपछि अफ्रिकामा विभिन्न प्रकारका लोखर्के, मुसा, न्याउरी मुसा र विभिन्न प्रजातिका बाँदरमा संक्रमण पाइएको थियो । मानिसमा भने पहिलोपटक सन् १९७० मा अफ्रिकी मुलुक कंगोमा ९ महिने बालकमा पुष्टि भएको थियो । सन् २०१७ मा नाइजेरियासहित अफ्रिकामा १० देशमा देखिएको थियो भने अन्तर्राष्ट्रिय यात्रा वा आयातित जनावरका कारण सन् २००३ मा अमेरिकामा प्रकोप फैलिएको थियो । यो संक्रमण हाम्रा लागि नयाँ मानिए पनि विश्वमा पहिले देखि नै छ । मध्य एवं पश्चिमी अफ्रिकी देशको जंगली स्थानमा पाइने बाँदरबाट मानिसमा सरेकाले मंकिपक्स नामाकरण गरिएको हो । लक्षणः पहिलो चरण अर्थात् प्रारम्भिक अवस्थामा अन्य संक्रामक रोगहरू तथा मौसमी फ्लुको लक्षण जस्तै ज्वरो, आलस्य, टाउको, मांशपेसी, जिउको दुखाइ, लिम्फग्रन्थी सुन्निने हुन्छ । दोस्रो चरणमा ज्वरो देखिएको १ देखि ३ दिनमा पहिले राता घमौराजस्ता उठेका र त्यसपछि ठेउला र बिफर जस्तै शरीरमा पीप भएको बिमिरा देखिन थाल्छ । खटिरा आउँछ र त्यो शरीरभरि फैलिएर केही दिनमा सुक्छ । खटिरा सुके पनि बिफर जस्तै दाग वा खत बस्न सक्छ । हाल अनुहार, हातखुट्टाका अतिरिक्त गुप्तांग र मलद्वारमा बिमिरा, घाउ बढी देखिएको अफ्रिकी चिकित्सक बताउँछन् । बिमिराको प्रकृति चिकनपक्स अर्थात् ठेउला र भिरगीसँग मिल्दो जुल्दो छ । दादुरा जस्तै तर कम संक्रामक र घातक मंकिपक्स रोगमा लक्षण सामान्यतः ६ देखि १३ दिनमा ज्वरो आउने, टाउको, ढाड तथा मांशपेसी दुख्ने, शरीर चिलाउने, ग्रन्थी सुन्निने, हत्केला र पैतालामा बिमिरा, डाबर, फोका देखिने र छाला फुट्ने लगायतका लक्षणहरू देखिन्छन् । अनुहार र हातखुट्टामा बिमिरा अर्थात् फोका बढी देखिन्छन् ।
सामान्यतः ज्वरो सुरु भएको १ देखि ३ दिनमा छालामा दाग देखिन्छ । ठेउलामा एक समय एक ठाउँमा विभिन्न प्रकारका डाबरहरू हुन्छन् जुन प्रायः चिलाउँछ । मंकिपक्समा एक समयमा एक ठाउँमा एकै खाले मात्र प्रायः दुख्ने, अलि गहिरो, बीचमा खाल्टो परेको डाबर हुन्छ । बिफर र मंकिपक्समा भने उस्तै भए पनि केवल घाँटी र काखीको गिर्खाले मात्र छट्याउन सकिन्छ । लक्षण १४ देखि २८ दिनसम्म रहन सक्छ र सामान्यतः आफंै हराउँछ । बिफर संक्रमितमा ३० प्रतिशत मृत्यु र निको भएकामा पनि ६५ देखि ८० प्रतिशतमा छालामा बिमिराको खत भने स्थायी रहन्छ । धेरैजसो लक्षणबाट, त्योबाहेक छालाको जाँच र फोकाको पीसीआरबाट पत्ता लगाइन्छ । गर्भवती, बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकामा जटिलता हुनसक्छ । सम्भावित जटिलतामा आँखामा संक्रमण र दृष्टि गुम्नु, अन्य जिवाणुको संक्रमण, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र बिरामीको मृत्यु समेत हुन सक्छ ।
सर्ने माध्यमः सम्पर्कमा आएका ५० जनामध्ये १ जनामा सर्ने यो रोग अन्य संक्रामक रोग ठेउला र भिरंगीको बिबिरासँग मिल्दोजुल्दो भएकाले स्वास्थ्यकर्मी झुक्किने सम्भावना बढी छ । रोग संक्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीहरूको थुक, ¥याल, घाउँ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ, दूषित सतह र मांशपेसीबाट सर्ने गर्दछ । भाइरस श्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेका छालामार्फत सर्न सक्छ । यस्तै बाँदर, मुसा लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि सर्न र फैलन सक्छ ।
संक्रमितसँगको यौनसम्पर्कबाट पनि सर्न सक्छ । तथापि वीर्यबाट सर्ने प्रमाणित भइसकेको छैन । गर्भवतीमा गर्भबाट बच्चामा सर्न सक्छ । लुगाफाटोलगायतमा संक्रमण हुँदा सर्ने जोखिम बढी रहन्छ । बिफरकै परिवारमा पर्ने मंकिपक्स संक्रमित व्यक्तिको घाउ, हाच्छिउँका छिटा र थुकबाटे सजिलै सर्न सक्छ । तरल पदार्थ श्वासनली, आँखा, मुख वा नाकबाट नछिर्न सक्छ । कोभिड जस्तो छिट्टै सर्ने र घातक नभएकाले आत्तिइहाल्नु पर्ने देखिँदैन ।
व्यवस्थापनः धेरैजसो मानिसमा यस्ले कनै जटिलता नल्याउने र २ देखि ४ सातामा आफंै निको हन्छ । तथापि बच्चा, वृद्धवृद्धा र दीर्घरोगीलाई भने च्याप्ने र छाला, आँखा तथा अन्य अंगको संक्रमण, निमोनिया, इन्सेफलाइटिस जस्ता जटिलता ल्याउनेगर्छ । रोगको मृत्युदर ० देखि ११ प्रतिशत भए पनि सन् २०२२ मा देखिएको वेस्ट अफ्रिकन स्टेनमा धेरै कम छ । सिकिस्त बिरामीका लागि एन्टिभाइरल औषधि टेकोभिरिम्याट पनि उपलब्ध छ । रोकथामका लागि स्मलपक्स संक्रमणविरूद्ध प्रयोगमा ल्याइएको एसएिम २०० र जेनिओज नामक खोप हाल प्रयोगमा ल्याइएको छ ।
सामान्यतः बिफर उन्मलन भइसकेपछि उपचारका लागि तयार पारिएका खोप र औषधिलाई जैविक हतियारका रूपमा प्रयोग गर्नु सुरक्षित हुने देखिन्छ । सीडीसीले बिफरको उपचारमा प्रयोग गरिने २ एन्टिभाइरल औषधि टिपिओएक्स र सिडोफोभिर मंकिपक्सविरूद्ध प्रयोग गर्न अनुमति समेत दिएको छ । विदेशबाट आएकालाई कम्तीमा २ देखि ३ साता क्वारेन्टाइनमा राख्ने भनिए पनि कार्यान्वयन गरएिको छैन । संक्रामक रोग एक उडानको समयमा अर्थात् ढिलो वा चाडो अर्काे स्थान र देशमा पुग्नसक्ने ज्वलन्त उदाहरण कोभिडले देखाइसकेको छ । सम्भावित जोखिम भएका देशबाट आउनेमाथि निगरानी राख्ने र क्वारेन्टिनमा राख्नुपर्छ । संक्रमितलाई ३ साता आइसोलेसनमा राखी कन्टयाक्ट ट्रेसिङ अनिवार्य गर्नुपर्छ । कोरोना संक्रमणमा अपनाइएका मास्कको प्रयोग, हावा ओहरदोहर गर्ने स्थान, साबुनपानीले हातको सरसफाइ जस्ता स्वास्थ्य मापदण्ड पालनालाई निरन्तरता दिनुपर्छ । संक्रमितले प्रयोग गरेका लुगाफाटा, बिछ्यौनालाई निसंक्रमित गरेर मात्र अन्यले प्रयोग गर्नुपर्छ । संक्रमण भएको ४ दिनभित्र खोप लिन सकिन्छ र ४ देखि १४ दिन भित्रसम्ममा खोप दिनसके संक्रमणको जटिलतालाई धेरै हदसम्म कम गर्न सकिन्छ । उपचार पत्ता लागिसकेको छैन, बिफरको एन्टिभाइरल औषधि प्रयोग गर्न सकिने भए पनि सजिलै उपलब्ध छैन र खोप नै सफल मानिन्छ । यौनसम्पर्कबाट पनि सरेकाले कन्डम प्रयोग गर्न र यौन पार्टनरहरू परिवर्तन गरेको भए लक्षणमा ध्यान दिनपर्छ । भाइरस बोक्न सक्ने जनावर, बिरामी वा मरेका जनावर, बाँदर, मुसा जस्ता संक्रमणको इतिहास भएकाको सम्पर्कमा आउनुहुँदैन । संदिग्ध जनावर वा मानिससँग सम्पर्कमा आएपछि अल्कोहलयुक्त सेनिटाइजर वा साबुनपानीले हात धुने गर्नुपर्छ । संक्रमित वा संदिग्धको हेरचाह गर्दा पीपीई लगाउने, राम्रोसँग पकाएको मासु मात्र खाने गर्नुपर्छ । मंकिपक्स संक्रमित बिरामी वा जनावरको सम्पर्कमा रहेका सामग्रीहरू छुनुहुँदैन । ज्वरो आएको ३ दिनभित्र अनुहार, हत्केला र पैतालामा डाबर देखिए स्वास्थ्य मन्त्रालयको हटलाइन १११५ मा जानकारी गराउनुपर्छ । संक्रमण तथा शंकास्पद केस नेपालमा पत्ता नलागेकाले धेरै डराउन नपरे पनि सबै सचेत हुन आवश्यक छ । साभार राजधानी दैनिक








